भदौं, हेटौंडा – तामाङ पत्रकार संघ बागमती प्रदेश समिति र जिल्ला समिति मकवानपुरको संयुक्त आयोजनामा ‘३१ औं तामाङ प्रसारण दिवस’ आज अन्तरक्रिया तथा पुरस्कार वितरण गरि मनाइदै छ। वि.सं. २०५१ साल भदौं १ गते बिधुतिय संचारमाध्यम रेडियो नेपालबाट पहिलो पटक तामाङ भाषामा समाचार प्रसारण गरिएको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष संघले यो दिवस मनाउँदै आएको छ।
संघका बागमती प्रदेश कार्यसमिति अध्यक्ष ज्ञानेन्द्र तामाङका अनुसार बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यतामा बागमती प्रदेशको सरकारी कामकाजी भाषाको रुपमा तामाङ भाषाको प्रभावकारी कार्यान्वयनका लागि सन्चारमाध्यम तथा सरोकारवालाको भुमिका बिषयक संवाद/अन्तरक्रिया हुने छ।
अन्तरक्रियामा संस्कृति तथा पर्यटन मन्त्रालयको सचिव दिपेद्र सुबेदी, कैलाश गाउँपालिका अध्यक्ष लोक बहादुर मोक्तान, बरिष्ठ पत्रकार प्रताप बिष्ट, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर र नेपाल तामाङ घेदुङको संघिय सदस्य मेम्बर लो तामाङ प्रमुख वक्ता रहने उनले बताए।
यस्तै, संघले स्थापना गरेको तामाङ भाषा पत्रकारिता पुरस्कार युवा व्यवसायी तथा सञ्चारकर्मी राजेश रुम्बा लामाले आफ्ना दिवंगत बुवा आइते सिं रुम्बा र आमा बुद्धिमाया नेगीको स्मृतिमा ‘आइते सिं-बुद्धिमाया रुम्बा स्मृति तामाङ पत्रकारिता पुरस्कार’ तामाङ भाषाको पत्रिका तामाङ डजाङ मासिकको प्रकाशक पत्रकार अर्जुन बहादुर ग्लान तामाङलाई पुरस्कृत गर्ने भएको छ। संघको जिल्ला समिति मकवानपुर यस बर्ष सक्रिय पत्रकार भुवन घलानलाई नगद सहित सम्मान गर्ने भएको छ।
तामाङ कुलमा जन्मिएर पत्रकारिता गरिरहेका देशभरका पत्रकारहरूको साझा संस्थाका रूपमा स्थापित संघले तामाङ समुदायको हक-हित, पहिचान, भाषा, संस्कृति तथा कला-साहित्य संरक्षण र प्रबर्द्धनमा क्रियाशील रहँदै आएको छ।