इसरोकर स.माघ १२-बलियो प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै आयोजक सहारा क्लब बुधबार १५ औं आहा–रारा गोल्डकप फुटबलको फाइनल पुगेको छ ।
सहाराले ११ औं संस्करणको सेमिफाइनलमा पनि आर्मीलाई टाइब्रेकरमै ४–२ ले हराएको थियो । गतवर्ष भने आर्मीले सहारामाथि सेमिफाइनलमै २–० को विजय पाएको थियो । आर्मी तीन पटक फाइनल पुगे पनि उपविजेता समेटिँदै आएको छ । सहारा १२ औं संस्करण च्याम्पियन हो ।
यसपालि सहाराले सुदूरपश्चिम र सिक्किमलाई हराउँदै यात्रा अगाडि बढाउँदा आर्मीले झापामाथि विजय पाएको थियो ।
पोखरा रंगशालामा बुधबार पहिलो सेमिफाइनल खेल निर्धारित ९० र थप ३० मिनेट गोलरहित भयो । निर्णयार्थ टाइब्रेकरमा लगिएको थियो । सहाराका सुसन गुरूङ, शिव सुवेदी, प्रदीप गुरूङ र कप्तान उत्तम गुरूङले गोल गरे भने लक्ष्मण जिसीको प्रहार गोलरक्षक विकेश कुथुले रोके ।
आर्मीबाट जितेन्द्र कार्की, सन्तोष तामाङ र दीपकुमार लामा मात्र गोल गर्न सफल भए । दीपक गुरूङको प्रहार पोस्ट माथिबाट बाहिरिँदा गोलरक्षक कुथुको पेनाल्टीलाई सहाराका गोलरक्षक सुजित गुरूङले रोके । सुजित म्यान अफ द म्याच भए ।
खेलको १ सय १९ औं मिनेटमा आर्मीका भरत खवासलाई हिर्काएकाले सहाराका बबी ओगोला ओडोंगोलाई रेफ्री सुदीशकुमार पाण्डेले रातो कार्ड दिए । पूर्वाद्धको तेस्रो मिनेटमै सहाराका मार्टिनले जितेन्द्रलाई छलाएर गोल गर्ने प्रयास गरे, उक्त बल कुथुले सजिलै रोके । १२ औं मिनेटमा नवयुगको प्रहार पोस्ट माथिबाट बाहिरियो । ३३ औं मिनेटमा भरतको प्रहारमा बल विपक्षी पोस्टको दायाँबाट बाहिरिन पुग्यो । ४७ औं मिनेटमा सन्तोष तामाङको पासमा दीपकुमार लामाले निकालेको क्रमलाई भरतको हेड प्रयास असफल भयो ।
सहाराले बुधबार घरेलु मैदानमा दर्शकको भरपूर समर्थन पाएको थियो ।
आर्मीलाई सहाराको बलियो रक्षापंक्ति कारण खेल सहज भएन । भरत, नवयुग श्रेष्ठ र दीपक गुरूङको पटक–पटकको प्रहार सहाराका गोलरक्षक सुजितले रोके । सहाराका शिव सुवेदी, बबी र रिचर्ड पुनका प्रहार पनि कुथुले गोल हुनबाट असफल पार का थिए । पूर्वाद्र्धमा आक्रामक खेलेका दुवै टिम मध्यान्तरपछि प्रतिरक्षात्मक रणनीतिमा उत्रिए ।
‘पाएका धेरै अवसर मिस भए,’ आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भने, ‘विपक्षीको डिफेन्स बलियो भएकाले हाम्रा खेलाडीले स्कोर निकाल्न सकेनन् ।’ पहिलो हाफमा गोल ननिस्केपछि गतिलो प्रदर्शन हुन नसकेको उनको ठम्याई थियो ।
सहाराका प्रशिक्षक किरण श्रेष्ठले अनुमानअनुसार नै खेल टाइब्रेकरमा पुगेको बताए । ‘आर्मीका खेलाडी तुलनात्मक रूपमा हामीभन्दा फिजिकल्ली फिट छन् तर, हाम्राले पनि खेललाई लुज छाडेनन्,’ उनले भने, ‘हाम्रोमा नयाँ खेलाडी धेरै अनि व्यावसायिक कम भएकाले डिफेन्स नै रणनीति थियो ।’
शनिबार हुने फाइनलमा बुधबारको विजेतासँग सहाराले प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-