ओखलढुंगा: १ भाद्रा २०७६ :- ओखलढुंगाका स्थानीय निकायमा आव ०७४/७५ वर्षमा २४ करोडभन्दा बढी बेरुजु देखिदा चम्पदेवी गाउपालिकामा सबै भन्दा बढी ७ करोड २९ लाखको बेरुजु रहेको छ ।
महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७४/०७५ मा सबैभन्दा बढी जिल्लाको चम्पादेवी गाउँपालिकाको ७ करोड २९ लाख बेरुजु छ । दोस्रोमा खिजिदेम्बा गाउँपालिकाको ३ करोड ६९ लाख बेरुजु छ । त्यस्तै लिखु गाउँपालिकाको २ करोड ९१ लाख, सुनकोसी गाउँपालिकाको २ करोड ८५ लाख, सिद्धिचरण नगरपालिकाको २ करोड २९ लाख, चिशंखुगढी गाउँपालिकाको २ करोड ७ लाख, मानेभञ्ज्याङ गाउँपालिकाको १ करोड ९० लाख बेरुजु देखिएको छ । जिल्लामा सबैभन्दा कम मोलुङ गाउँपालिकाको १ करोड ५ लाख बेरुजु रहेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।
जिल्लामा बेरुजुु देखिएको २४ करोड ९ लाख रकममा १ करोड ५८ लाख असुल गर्नुपर्ने, ७ करोड ११ लाख नियमित गर्नुपर्ने, ९ करोड ७५ लाखको कागज पेस गर्नुपर्ने र बाँकी कर्मचारी तथा अन्यले लिएको पेस्की रकम फर्स्योट गर्न महालेखापरीक्षकको कार्यालयले सुझाब दिएको छ ।
महालेखापरीक्षकको प्रतिवेदनमा बिलभन्दा बढी रकम भुक्तानी गरेको, भुक्तानी दिँदा बिलभर्पाइ नराखेको, गाउँसभा तथा नगरसभाको निर्णयबेगर योजना सञ्चालन गरेको, नक्कली उपभोक्ता समिति गठन गरी ठेकेदारमार्फत काम गराएको जस्ता कमजोरी औँल्याएको छ । त्यसैगरी, अनुगमन मूल्यांकन कमजोर भएको, सेवा प्रवाहको प्रतिफल सन्तोषजनक नभएको, प्राथमिकता निर्धारण नगरी योजना छनोट गरेको जस्ता त्रुटि प्रतिवेदनले औँल्याएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-