
१ भाद्र, काठमाडौं । २५ औं तामाङ प्रसारण दिवसको अवसरमा तामाङ पत्रकार संघले तामाङ प्रसारणको रजतजयन्ती समारोह सम्मान तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
आज (आइतबार) काठमाडौंको तमु बौद्ध सेवा समितिको हलमा आयोजित कार्यक्रममा विगत लामो समयदेखि तामाङ समुदायको आवाजलाई बुलन्द बनाउनमा टेवा पुर्याएको भन्दै तिनवटा प्रसारक संस्थालाई सम्मान गरिएको थियो ।
सम्मानित प्रसारक संस्थाहरुमा रेडियो नेपाल २०५१ सालदेखि निरन्तर रुपमा समाचार तथा साप्ताहिक कार्यक्रम स्याल्गार प्रसारण गर्दै आइरहेको छ , एसियाकै पहिलो सामुदायिक रेडियो (रेडियो सगरमाथा) २०६१ सालदेखि साप्ताहिक कार्यक्रम तामाङ काई प्रसारण गर्दै आइरहेको छ त्यस्तैगरि मेट्रो एफएमले २०५६ बाट नाङ्साल कार्यक्रम नियमित रुपमा प्रसारण गर्दै आइरहेको छ ।
तामाङ भाषालाई जोगाई राख्न सर्वप्रथम त तामाङ भाषामा एकरुपता ल्याउनुपर्नेमा जोड दिँदै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल सरकारका पुर्व सचिव धनबहादुर तामाङले आफ्नो भाषालाई बेवास्ता गरिएको , अङ्ग्रेजी भाषा तिर बढी उन्मुख भएको बताए । जति धेरै भाषा प्रयोगमा ल्यायो त्यति धेरै फाइदा पुग्ने साथै सबै भाषालाई उत्तिकै प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
रेडियो नेपालका कार्यकारी निर्देशक सुरेस कुमार कार्की , मेट्रो एफएमका प्रमुख धर्ममणी कार, रेडियो सगरमाथाका कार्यकारी निर्देशक सुबोध गौतम, नेपाल तामाङ घेदुङका महासचिव बाबू घिसीङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा तामाङका समस्या र चुनौती सम्बन्धि विशेष प्रस्तुति रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-