माघ १३- बाके जिल्लामा देशकै सबैभन्दा बढी कुष्ठरोगी फेला परेको भन्दै स्वास्थ्य अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । यसैगरी बाँकेसँग सीमा जोडिएको बर्दिया जिल्ला देशकै धेरै कुष्ठरोगी भएको जिल्लाहरुको सूचीमा तेस्रो स्थानमा छ ।
६४ औं विश्व कुष्ठरोग विरुद्धको दिवसको पूर्वसन्ध्यामा यो तथ्यांक सार्बजनिक भएको हो । यस वर्ष ‘समयमा नै कुष्ठरोगको उपचार गरौं, अपाङ्गता हुनबाट बचौं’ भन्ने मूल नाराका साथ कुष्ठरोग विरुद्धको दिवस मनाइँदै छ ।
कुष्ठरोगीको खोजी तथा उनीहरुको उपचारलाई तीब्र पारिए पनि बाँके पहिलो र बर्दिया तेस्रो स्थानमा पर्नुलाई स्वास्थ्य अधिकारीहरुले निकै संवेदनशील भनेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले नेपालगन्जमा आयोजना गरेको अन्तरक्रियामा मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशक रीता भण्डारी जोशीले भनिन्, ‘बाँके र बर्दियामा नयाँ कुष्ठरोगी खोजि अभियान सञ्चालन गरी दुईदिनसम्म भएको प्रयासमा पनि बाँकेमा ६० जना र बर्दियामा ३३ जना नयाँ कुष्ठरोगी भेटिएका छन् । तिमध्ये तीन-तीन जना बालबालिका छन् । यो जनस्वास्थ्यको हिसाबले निकै चुनौतिपूर्ण कुरा हो ।’
क्षेत्रीय निर्देशक भण्डारीले मध्यपश्चिमका १५ वटा जिल्ला प्रतिहजारमा १ दशमलव १४ प्रतिशतलाई कुष्ठरोग भए पनि बाँकेमा २ दशमलव ९६ प्रतिशत र बर्दियामा २ दशमलव ७६ प्रतिशत नयाँलाई कुष्ठरोगको संक्रमण देखिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख जनस्वास्थ्य प्रशासक खिमबहादुर खड्काले खुला सिमाना र सरसफाईको कमीका कारण बाँकेको अवस्था चिन्ताजनक पाइएको बताए । उनले नयाँ रोगी खोजि अभियानलाई बाँकेमा आईएनएफसँग सहकार्य गर्दै तीब्र पारिएको बताए ।
उनले भने-‘अभियान वा दिवसलाई मध्यनजर गर्दै कार्यक्रम सञ्चालन गरिने परिपाटीलाई तोड्दै अन्य बेलामा समेत जिल्लाको स्वास्थ्य, पोषण तथा अन्य अवस्थाको बारेमा कार्यालय अत्यन्तै संवेदनशील भएर कार्यक्षेत्रमा खटिने छ ।’
उनले कुष्ठरोग उपचारले निको हुने रोगको रुपमा जानकारी भएपनि सामाजिक कारण वा विभिन्नखाले संकोचको कारण स्वास्थ्य संस्थाहरुमा आउन नमानेको कारणले आफुुहरुको चुनौती बढेको बताए ।
उनले बाँके देशकै सबैभन्दा बढी कुष्ठरोगको संक्रमण भएको जिल्ला रहेकोले पनि यसको निदान, नयाँ रोगीको पहिचान र उपचार अत्यन्तै चिन्ताको विषय बनेको औंल्याए ।
प्रतिक्रिया लेख्नुहोस्:-