३० मंसिर, बुटवल ।
प्रदेश ५ को नाम लुम्बिनी नामाकरण गर्ने विषयमा एकमतले ‘लुम्बिनी’ प्रदेशको नाम सिफारिस गरिएको छ । स्थायी राजधानीको विषयमा भने समितिका सदस्यहरुले सञ्चारकर्मीलाई फरक-फरक नाम बताउने गरेका छन् ।
विशेष समितिका संयोजक दीपेन्द्रकुमार पुन ‘सिजल’ले बाह्रै जिल्लाबाट आएका सुझाव र विज्ञ समितिको सुझावका आधारमा राजधानी हुन सक्ने स्थानहरु सिफारिस गरी प्रतिवेदन तयार पारिएको बताएका छन् ।विशेष समितिले बनाएको प्रतिवेदन पुसको दोस्रो साता शुरु हुने प्रदेश सभाको बैठकमा प्रस्तुत हुने र संवैधानिक व्यवस्थाअनुसार टुंगो लाग्ने पुनले बताए ।
प्रदेशसभामा सत्तारुढ नेकपाका ६१, कांग्रेसका १९, समाजवादीका ५, राजमो र राजपाका एक-एक सांसद छन् । विशेष समितिका एक सदस्यले सिफारिस गरिएका कुनै पनि स्थानका पक्षमा दुई तिहाइ मत नपुग्ने दावी गर्दै संविधान संशोधन गरेर टुंगो लगाउनुपर्ने अवस्था आउन सक्ने औंल्याए ।
२०७५ साउनमा गठन भएको समितिले दुई पटक म्याद थप गर्दै १६ महिना गुजारेर राजधानी र नाम सिफारिस गरी प्रतिवेदन तयार पारेको हो । पछिल्लोपटक थप गरिएको ६ महिनाको समयावधी सकिनु एक दिन अघि समितिले प्रतिवेदन तयार गरेको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-