पोखरा, १० पुस २०७६ : हुम तमु
तमु जातिको नयाँवर्ष, महान चाड एवम राष्ट्रिय पर्व तमु ल्होछार २०७६ च्यु ल्हो(मुसा वर्ग)आगमनको अवसरमा तमु धिं नेपाल केन्द्रीय आमा समितिले शुभकामना आदानप्रदान, विविध साँस्कृतिक कार्यक्रम तथा जलपान कार्यक्रम सम्पन्न गरेको छ।
तमु धिं नेपालको च्यु ल्होछार मनाउने कार्यक्रम अन्तर्गत तमु धिं नेपाल केन्द्रीय आमा समितिका आयोजना पोखरा ९ नयाँ बजारमा आयोजित कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो।
च्यु ल्होछारको शुभकामना व्यक्त गर्नुहुदै उपप्रमुख गुरुङले सँस्कृतिले समृद्ध तमु समुदायले अब व्यवसायिक, प्रसासनिक, राजनीतिक क्षेत्रमा पनि जोड दिनुपर्ने बताउनुभयो। गुरुङले पोखरा महानगरपालिकाले महिला, आदिवासी जनजाति र विपन्न वर्गका लागि प्रदान गर्दै आएको सेवा सुविधाको जानकारी दिनुहुदै महानगरले प्रदान गर्ने सुविधा एवम अवसरको उपभोग गर्न तमु आमा समितिहरुले ध्यानाकर्षण गर्नुभयो।
नेपाल तामाङ धेदुङ प्रदेश नं.४ का अध्यक्ष दिपक तामाङले च्यु ल्होछारको शुभकामना व्यक्त गर्नुहुदै विभेदमा पारिएकाहरु एक नभए आन्दोलनबाट प्राप्त अधिकार पनि खोसिदै आएको बताउनुभयो।ल्होछार विदाको अधिकार प्राप्तिका लागि नै भए पनि तमुहरु लगायत सबै आदिवासीहरुको एकताका लागि आव्हान गर्नुभयो।
तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुहुदै च्यु ल्होछारले तमुहरुलाई निरन्तर जुटिरहने प्रेरित गर्ने अपेक्षा गर्नुभयो। उहाँले च्यु ल्होछारको कार्यक्रमहरुको बारेमा जानकारी दिनु हुदै तमुहरु अब रमाउने मात्रै होइन अधिकार खोज्नुपर्दछ, लाहुरे मात्रै होइन लोकसेवा आयोगमार्फत मुलुकको प्रसासक बन्नुपर्ने, घरका दराजमा व्हीस्की होइन पुस्तकले सजिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा दीप प्रज्वलनका साथै १०८ बत्ती बालिएको थियो भने आमाहरुले शुभकामना मोन्लम पाठ गरेका थिए। कार्यक्रममा पैयुखोला तमु समाज, खिलाङ तमु समाज, फिर्के तमु समाज, मिलिजुली विजयपुर तमु समाजको तर्फबाट साँस्कृतिक प्रस्तुतिले कार्यक्रम मनोरञ्जनात्मक बनाएको थियो। उक्त कार्यक्रमका ल्होछार शुभकामना सहित चियापान कार्यक्रम समेत गरिएको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-