यो पुजिवादले मलाई कहिले आणविक हतियारले मार्यो, कहिले संक्रामक रोग भित्र्याएर मार्दैछ भने कहिले मेरो सामाजिक बिबिधतालाई समाप्त पारेर मार्दै आएको छ ।
सोर्हौ, सत्रौ शताब्दीतिर जब औद्योगिक पुजिवादको विकास भयो । तब तिमि (पश्चिमा) हरु आफ्नो तयारी माल बिक्रीको लागि संसारका मुलुकहरूलाई उपनिवेश बनाउने होडबाजीमा उत्रीयौ । त्यसपछि म प्रकृतिवादी मान्छेहरू पटकपटक मर्ने र बौरिने क्रममा छु ।
प्रथम विश्व युद्ध (१९१४-१९१८) र दोश्रो विश्व युद्ध (१९३९-१९४४) मा मानव बिनाशकारी हतियार प्रयोग गरेर करोडौं म मान्छेहरूलाई कमिलासरी मार्यौ । तिमी देश, देशलाई कब्जा गर्ने नाममा तिम्रो सामान किनेर खाने म क्रेता (उपभोक्ता) लाई नै मारिरहेको छौ भन्ने कुरा तिमिले बुझेनौ ।
यतिले पनि महरु मरेर नसकेपछि मेरो भिन्न जीवन परम्परालाई समाप्त गर्न तिमिले रासायनिक उत्पादनहरु पठायौ । जैविक रुपमै बिषाणु प्रत्यारोपण गरिएको GMO खाधान्न थोपरेर मेरो रैथाने जातको बीउ, बिजन नष्ट गर्यौ ।
फापरको तितो पचाउने मेरो पेटमा एकैपटक रारा चाउचाउ र जंक फुड पचाउन कति गार्हो भयो, धेरै दिनसम्म छेरपटि चल्यो । तैपनि मसंग उपाय थिएन । किनकी मेरो सवै बजारहरु तिम्रो नियन्त्रणमा गैसकेको थियो।
यसरी तिम्रो उत्पादन सम्बन्धले मेरो सवै क्षेत्रमा नराम्रो प्रभाव पार्यो । मेरो तामाङ जिब्रोमा अंग्रेजी भाषा टंकन गरायौ । मेरो गर्मी हुँदा हिमाल चढ्ने, जाडो हुँदा तराई झर्ने पुर्ख्यौली चलनमा बर्थ डे, अप्रील फुल, भ्यालेन्टाइन डे जस्ता पश्चिमा संस्कृती भित्र्याएर सामाजिक रुपमा तिमिभन्दा म भिन्न मान्छे हु भन्ने पहिचानलाई सिध्यायौ ।
सिन्धु (हिन्दू) सभ्यताबाट विकसित ईश्वरवादले त म आधापिल्चो मात्रै भएको थिए । तर तिम्रो बाइबल पनि थपिएपछी मेरो प्रकृतिवाद यतिबेला उठ्न नसक्ने गरि नराम्रोसंग थला परेको छ ।
त्यसमाथि तिमी कहिले बर्ड फ्लू पठाउछौ, कहिले स्वाइन फ्लू, कहिले प्लेग त कहिले एड्स पठाएर मलाई मार्छौ । हुँदा हुँदा मान्छेको छेउमा बस्न पनि नहुने यो कोनि के जातको कोरोना पठायौ र मजस्ता मान्छेहरु मारिरहेका छौ ।
म त निरीह, निर्दोष प्रकृतिवादी मान्छे हु । ज्वरो आउँदा दुधे गंगटा र गडेरा माछा पिसेर खाने, फाच्याङ पिसेर टाउकोमा दल्ने, खुट्टामा घाउ हुदा बिहिरिको गन्हाउने लहरा बाध्दा निको हुने मान्छे थिए । तर तिमिसंगको संसर्गपछि आज १००० डोजको पेन किलरले मेरो शरीरमा काम गर्दैन ।
पुजिवाद ! तिमी मलाई कस्तो मान्छे बनाइरहेका छौ ? कता लादैछौ ? कहाँ पुर्याएर मार्दैछौ ? मलाई मेरो आफ्नै ठाउँमा मर्न देउ । मलाई मृत्युपछि मेरो आफ्नै माटोमा गाडिएर मेरो हाडखुड सड्न देउ ।
तिमी रोग पठाउछौ अनि दबाइ पनि बेच्छौ । कम्प्युटर बनाउछौ अनि बिगार्ने भाइरस पनि पठाउछौ । दुनियाँलाई जुधाएर हतियार बेच्छौ र नाफा कमाउछौ । यसखालको खेलले ममात्र होइन, तिमी पनि पक्कै मर्छौ । तिमी नाफावालहरु मर्नु ठिकै होला तर म त्यो खेलमा सहभागी नभएको निर्दोष म मान्छे मर्नु निश्चय पनि ममाथि ठूलो अन्याय हुनेछ ।
भो, तिमी मलाई चाहिएन । तिम्रो कृतिमता ममाथि थोपर्ने काम बन्द गर । मेरो आफ्नै दुनियाँ छ । मलाई त्यही आफ्नो खुल्ला संसारमा बाच्न देउ । धन्यवाद ।।
लेखक : मोहन गोले तामाङ्ग (अध्यक्ष -नेपाल तामाङ्ग घेदुङ्ग संघिय सचिवालय काठमान्डौ)
प्रतिक्रिया लेख्नुहोस्:-