दिपक तामाङ्ग
पोखरा, ११ बैशाख २०७७:
आमा!
तपाइले गर्नुभएको त्यागप्रती नमन प्रकट गर्दै माफी चाहन्छु। म जन्मेको दिनदेखी आजसम्ममा धेरै मातातिर्थ औशी आए तर आमालाई खुसी पार्ने दिन कहिल्यै आएन भनौ या मैले ल्याउन सकिन ।
हरेक बर्ष झै यो बर्ष पनि क्यालेन्डरमा माता तिर्थ औशी लेखेको देखेपछि तपाईंले मेरो निम्ति गर्नु भएको त्यो दु:ख, त्याग, समपर्ण सम्झेर मेरा आखाहरु रसाउन थालेको छ। सम्झिन त म हरेक दिन तपाइँलाई सम्झिरहन्छु । तर यो सम्झनालाई पोख्नका निम्ति भने आजकै दिन आउनु पर्दोरहेछ। अरुबेला तपाईलाई एकचोटि फोन गर्न म हजारचोटी सोच्ने गर्छु । मोबाईलको त्यो स्क्रीनमा तपाईंको नम्बर आउने बित्तिकै यस्तो भन्छ “तपाईंसंग पर्याप्त पैसा छैना” । आजको दिनमा पनि एनसेलसंग ४० रुपैयाँ लोन (ऋण) लिएर तपाईंलाई फोन गर्ने बिचार गरेको छु। आज पनि एनसेलले ऋण नदिदो हो त तपाईंलाई मैले धेरै माया गर्छु आमा भनेर भन्न पाउने थिएन होला सायद ।
म ती दिनहरु अझै सम्झिन्छु ,
तपाइ हाटमा गएर आउदा; मेरो लागि कहिले फुच्चे चाउचाउ त कहिले ग्लुकोज बिस्कुट ल्याएर आउनु हुन्थ्यो । र भन्नुहुन्थ्यो आज चै आमेन भेटेर तिम्रो लागि बिस्कुट ल्याईदेको छु। त्यतिबेला म आफुलाई भाग्यमानी ठान्थे किनकी आमा जहिले हाटमा गएको बेलामा केही न केही त कोहि न कोहिले किन्दिनुभको भन्दै ल्याईदिनुहुन्थ्यो । बिडम्बना यस्तो ममताको खानी आमालाई मैले महिनामा एक चोटि फोन समेत गर्न सकेको छैन ।
घिउ बेचेको पैसा जम्मा गरेर हरेक बर्षमा एकचोटि नयाँ कपडा किन्दिनुहुन्थ्यो । नयाँ कपडा लगाउन मन त तपाईंलाई पनि लाग्दो हो तर छोरोको खुशीको लागि तपाईंले आफ्नो सबै खुशी त्याग्नु भयो । खाली पेट भर्न पाँच मिटर लामो पटुकिको सहारा लिने तपाईं मलाई कुनै दिन पनि भोकै राख्नु भएन। ती सबै त्यागको ॠण तिर्न आज म असफल भएको छु । एसएलसि दिएपछी शहरमा गएर केके नै गर्छु भन्ने हुटहुटि चलेर साथिहरुसंग जान्छु भन्दा रातको ९-१० बजेसम्म गाउँको सबै घर चारेर बाटो खर्च ल्याईदिनुभएको अझै पनि बिर्सेको छैन । त्यतिबेला तपाईंलाई पनि लागेको थियो होला अब छोराले दुइचार पैसा कमाएर ल्याउछ । कमाउन दुख नगरेको पनि कहाँ होर? चैत्रको त्यो टन्टलापुर घाममा थुन्चेभरी बालुवा र गिट्टि पनि बोके । तर भनेजस्तो सजिलो कहाँ रैछ र ति सबै सपनाहरु पुरा गर्नलाई ।
आमा!
तपाईंलाई छोडेर आएको यत्तिको बर्षहुँदा पनि यो महङो सहरमा तपाईंको लागि एउटा खुशी पनि किन्न सकेन । सबैजनाले आफ्नो खुसी भेट्ने सहरमा मैले सकेन ।
सबैजनाले आफ्नो खुसी भेट्ने सहरमा मैले भेटेन । हजारौं डाडाहरु कटेर सायौ नदिहरुलाई छोडेर यो अन्जान सहरमा हरदिन नया जोस जागरको साथ एक पाउ खुशी किन्न दौडिरहेको मान्छेसंग म पनि सहभागी भएर दौडिरहेकै हुन्छु । यद्यपि दौड हात्ती आयो हात्ती आयो फुस्सा भनेको जस्तै भएको छ। मात्र एक यात्री बनिरहेको छु ।
ती मेरै साथिहरु हुन जो म संगै घासको भारी बोक्दै हिड्थे आज तिनै साथिहरुले काठमाडौमा घडेरी किन्यो भन्दै सुनाउछन । तर मैले, तपाईंको आवाज सुन्न मन लाग्दा पनि दश रुपैयाँ खर्च गर्न सकेको छैन। अझै पनि म दश रुपैयाँ जोगाउन तिस मिनेट हिड्ने गर्छु । थाहा छैन यो परिस्थितिको सामाना कहिलेसम्म गर्नुपर्ने हो । तर यति चै जरुर भन्न सक्छु मैले गरेको अठोट पूरा गरेरै छोड्नेछु ।
तपाईंसंग छुटेको बेला मैले भनेको थिए “यो संसारको सबै खुसी तपाईंलाई दिन्छु आमा” तर त्यो बाचा पूरा गर्न नसकेकोमा माफी चाहन्छु । यसकारण माफ गर्नुस कि मैले तपाईंको ओठमा मुस्कान ल्याउन सकेन माफ यसकारण गर्नुस कि तपाईंको खाली पेट मैले भर्न सकेन र माफ गर्नुस मैले जिम्मेवारी निभाउन सकेन तर म पछि पनि हटेको छैन ।
मलाई थाहा छ तपाइले मलाई माफी दिनुहुनेछ। मलाई लागेको थियो कि मैले धेरै कुरा जानेको छु म जे पनि गर्न सक्छु तर म गलत रहेछु मैले सिक्न धेरै बाकी रहेछ। आज सिक्दै छु सिक्ने क्रममा ठक्कर धेरै खाए ।
सुनेको थिए जुन ढुङ्गाले मुर्तिकारको छिनोको हजारौं चोट सहन सक्छ त्यही ढुङ्गाले मुर्तिको आकार लिन्छ । त्यसलाई मन्दिरमा राखिन्छ र हजारौं मानिसले पुजा गर्छन तर त्यही छिनोको चोट सहन नसक्ने ढुङ्गालाई मन्दिरको वरिपरि बिछ्याउछ । मानिसको खुट्टामा माटो नलागोस भनेर । हो यहि मुर्ति बन्ने जोस जागरको साथमा आज पनि म निरंतरता अघि बढ्दै छु। जिन्दगीमा गौतम बुद्ध त बन्न नसकुला म तर बुद्ध जस्तै सलिन र ज्ञानि बन्ने प्रयास गरिराख्नेछु।
प्रतिक्रिया लेख्नुहोस्:-