माओ यसो भन्थे, मार्क उसो भन्थे, केपी ओलीको विकल्प छैन, एक ब्यक्ति एक पद गर्नु पर्छ, फलानो मान्यको पहलमा यति विकास बजेट आयो, फलानोले उद्घाटन गरे । फलानो माननीय फलानोको पक्षमा, वा विरुद्धमा । फलानाले फलानो पद पाए । तपाईंहरुका कुरा यति होईनन् त ? हुन त हामी भुईंमान्छेले नदेखेका नसुनेका अग्ला अग्ला पर्खाल भित्र धेरै कुराहरु छन् होला । तर म एउटा सानो वडाको सानो टोलको कुरा गर्दै छु ।
भुकम्प गएको ४ महिना पछि तपाईंको सरकार आयो । त्यो बेला एउटा नीति बनेको थियो । मुलुकमा अन्यत्र घर हुनेलाई अनुदान नदिने । के यो पालना भयो ? वरु मेरै टोलमा नवराज भाईको ५ वर्षको छोरा उस्कै घर भत्किएर मृत्यु भयो । मृतकको परिवारले पाउने राहत पनि प्राप्त गरे ५ वर्ष पछि वल्ल गुनासोमा नाम निस्कियो रे । राधा भाइ (वसन्त केसी) जो अरुको कटेज बनाउंदा बनाउंदै २९ गतेको भुकम्पमा पानी भरिएको ड्रमले किचेर गोडो भांचियो । हेलिकप्टरमा लगेर उपचार पनि भयो । खास गरि उस्का परिवारमा उहीँ मात्रै हो गाउंमा बस्ने जस्को घर १२ गते नै ध्वस्त भयो । उस्को नाम अझै पनि लाभग्राहीमा आएको छैन । यस्ता पिडितहरु हरेक टोल टोलमा छन् । कति मान्छेलाई एउटा घर चाहिएको छ तर परिबारका सबै सदस्यको जनही नाम निस्केको छ । डाडुको लोभले खड्कुंलो जानेमा छ । सागपात खाने रछ्यान पनि मासिनेमा छ । तीन वर्षे देवालीमा त्यो पनि आउंन भ्याउंछ भ्याउंदैन । उस्ले शोखको लागि गाउंमा महंगो घर ठड्याई दियो । रैथाने गरीवगुरुवालाई त्यो प्रतिस्पर्धाले अचानोमा पारेको छ ।
संघीय चुनाव ताका मेरै छिमेकी भीम वहादुर काका, तल्ला घरबाट मासु बोकेर घर आउंदा आउंदै वेपत्ता भए । परिवार र गाउंले मिलेर खोजीमेली पनि गरे । पुलिसलाई पनि गुहार मागे तर आज सम्म न सास भेटियो न लास भेटियो । आजसम्म अन्त्यष्टी कार्य हुन सकेको छैन ।
गत वर्ष घोगडीका हिमालय बस्नेतका छोरा, चरिघ्याङमा आफ्नै कोठाको छेउमा निर्वस्त्र मृत भेटियो । उस्को पाखुरामा धारिलो हतियारको चोट थियो । लगाएका कपडाहरु ठाउंठाउंमा छरिएका थिए । न हत्या ठहरियो न आत्मा हत्या ? वरु छानविनका लागि ताकेता गर्न गएका वडा अध्यक्षले नै प्रहरी प्रमुखको हातपात र दुब्यवहार खप्नु परेको थियो ।
कांग्रेशका नेता अर्जुन नरसिंह केसी शहरी विकास मन्त्री हुंदा नै एकीकृत बस्ती निर्माणको नीति पास गरिएको थियो । त्यस अन्तर्गत अर्को सरकारले डिही फसिभैं एकीकृत बस्ती स्वीकृत गरि ११ करोडको परियोजना स्वीकृत गर्यो । सरकारी बजेटलाई पेवा सम्झनेहरुको कारण भुगर्भ विद्हरुले जोखिम ठहराएको डिहीको तल्लो भागमा योजना लागू गरियो । समन्वय हुन नसक्दा सो वस्तीका करिव ८०५ घर परिवार अन्यत्र सरीसकेका छन । बांकी घर परिवार आजसम्म घंडेरी नवनेकोले कटेरामा वांच्न बाध्य छन । फसिभै क्षेत्रमा भने लगभग घंडेरी टुङ्गो लागिसकेको अवस्थामा मान्छेहरु घर वनाउन सुरु गर्दैछन । तर आफुलाई चरिकोट बजारमा किनमेल गर्न बन्देज गर्ने, उत्पादित सामाग्री बेचविखनमा रोक लगाउने जस्ता गतिविधिले गर्दा सामाग्री ओसारपसार गर्ने साधनलाई अन्य गाउंका जनताले रोक लगाए पछि निर्माण कार्यमा अवरोध सिर्जना भएको छ ।
फेरि स्वीकृत बजेट ११ करोडमा ७ करोड मात्र पैसा आएको छ । बांकी ५ करोडको अत्तो पत्तो छैन । बरु प्रदेश सरकार र नगरपालिकामा गुहार माग्नु परेको छ । डिही पटीको व्लकमा त अझै घंडेरी मात्र निर्माण गर्न पनि ३,४ करोड लाग्ने देखिन्छ । जनता लट्पट्याउन बांडिएका सपना पूरा गर्ने त कहिले हो कहिले । कोरोना गतिलो बहाना बनेको छ ।
डिही व्लकमा एकीकृत वस्तीमा सामेल हुन नचाहने गोमा केसी (कान्छेमा) को घर भुकम्पले जिर्ण त बनाएको थियो तर उनको घरको छाना, काठपात सबै पुन प्रयोग गर्न मिल्ने थियो । केही सरसामान पनि त्यही घर भित्र थिए । जस्को अनुमति विना, समन्वय नगरी पुलिसको उपस्थितिमा बलपुर्वक डोजर लगाएर घर भत्काईयो । बुढी मान्छे जिल्ला प्रशासनमा क्षति पुर्तिको लागि रोईकराई गरिरहेकी छन् । उनको गुनासो कसैले सुनिदिएको छैन् ।
माथि सार्केश्वांरा रङ्गलाल काकाको कान्छो छोरो ,काठमान्डौमा सिए कोर्ष पढ्दै थियो । एउटी केटीसंग हिमजिम बढेछ । अनि केटाकै कोठामा असार तिर केटी पनि गईछन । केटाले डरले हो कि के हो ? उनीहरुबीच केही मनोरन्जन भएको स्वीकार गरेछ । अनि ४,५ महिना पछि उस्ले अर्कै केटीसंग मागी बिबहा गरयो । विहेकै दिन असारमा एक पटक भएको कृयाकलापको आधारमा उस्लाई पक्राउ गरि मुद्धा चलाईयो र उ जेल भुक्तान गरिरहेको छ । उता सभामुख छुट्कारा पाउँछन् ।
स्थानीय निकाय गठन हुंदा हाम्रो वडाको मुकाम डवली (टहले नजिकै) भन्ने स्थान तोकिएको थियो । त्यही भरोसामा टहले वरिपरिका मान्छेहरुले बजार बन्ने आशमा टहले क्षेत्रमा ठुला लगानी गरेर घरहरु बनाए । स्वस्थ्य केन्द्र, सहकारीका कार्यलय भवन पनि यही क्षेत्रमा निर्माण भएका छन् । २,४ वटा दुकानहरु समेत यही चलिरहेका थिए र छन पनि । तर वडा कार्यालयको भवन डांडागाउंको पल्लो छेउमा निर्माण हुँदै छ । या त वडाको सिरान भट्मासेतिर बनाईदिएको भए सेवाग्राहीलाई एकोहोरो पथ्र्यो । या त अन्य सेवाहरु समेत प्राप्त हुने लगभग सबैको वीच पर्ने, भोलि बजारीकरणको सम्भावना भएको क्षेत्रमा राखिदिएको भए के हुन्थ्यो ? वा ८,१० वर्ष पश्चात् विद्यार्थी शून्य प्राय भएर खण्डहर हुने सम्भावना भएको विद्यालय जस्मा अरवौं लगानी हुँदै छ जस्को छेउछाउमा बनाउन पाएको भएपनि भोलि प्रयोग गर्नु हुन्थ्यो ।
पिप्लेमा प्रदेश सरकारको लाखौं अनुदानमा गाई फार्म छ रे । मैले देखेको छैन तर तर ३,४ वटा मात्र गाई छन रे भन्ने सुनेको छु । युवा स्वरोजगारको लाखौ रकम कुखुरा पालन भनेर जलेश्वर देवस्थललाई प्रभावित हुनेगरी खास ब्यवस्थापन नगरी केही ब्यक्तिले संन्चालन गरिटोपल्दै छन ।
मान्ने जी !
मेरै टोलको फेदीमा तामाकोशी तेस्रोको ड्यम्प बन्ने । अनि कृतिम पोखरी निर्माणहुने अनि डुङ्गा सयर गर्न हजारौं मान्छेको ओईरो लाग्ने कथा सुनेको थिए । अहिले त ६५० बाट घटाएर २०० मेघावाटको बन्ने रे कहाँ र कहिले भन्ने केही टुङ्गो छैन । फेरि उत्तर दक्षिण द्रुत मार्ग मेरै टोलको फेदीबाट जाने अध्यन र प्रारम्भिक सर्भेसमेत भएको अवस्थामा फेरि पारीपट्टीबाट जानेरे भनेको सुन्छु । मेरै गाउंको अधिकांश बेंसी क्षेत्रलाई सिंन्चाई सुविधा पुग्ने योजना मर्मतसंभारको लागि २ पैसा छुट्याएको छैन । विचरा किसानहरु पटुका फुकालेर पाईप फुटेको ठाउँ बांधेर जिनतीन सिंचाई गरिरहेका छन् । स्थानीय सरकारको त कुरै छोडौं । तपाईंहरुले जितेको त साढे २ वर्ष भैसक्यो । मेरो टोल, वडा त सदरमुकामको नाकैमुनि छ । यहाँ त यस्तो अवस्था छ भने अन्य ठाउंहरुको अवस्था के होला ?
मान्ने जी !
यही हो त यहांहरुले भन्नू भएको केजाति वाद ! यही हो त आमुल परिवर्तन ? कोरोना महामारीको डरले मानिस लुकेर वस्न राजी भयो लुक्ने स्थानको सुनिश्चितता न भएका नागरिकहरु जो देश, विदेशमा अलपत्र छन् । तिनिहरुको वारेमा केही सोच्नु वा वोल्नु कस्ले पर्ने हो । मार्कस, लेनिन, माओ यसो भन्थे, उसो भन्थे भन्दै जागिर पचाउनु गजवकै भाग्य रहेछ हजुरहरुको ।
केशब चौंलागाँई (भारद्धाज)
प्रतिक्रिया लेख्नुहोस्:-