१८ असार, काठमाडौं । तामाङ पत्रकार संघले काठमाडौं उपत्यकामा रहेका तामाङ पत्रकारहरूलाई स्वास्थ्य तथा खाद्यसामग्री वितरण गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि जारी लकडाउनका कारण प्रभावित पत्रकारहरूलाई राहतस्वरूप ३६ जना पत्रकारलाई चामल, दाल, तेल, नुन, चाउचाउलगायत खाद्यसामग्री र केएन ९५ मास्क, ह्यान्ड स्यानीटाइजर, फेस शिल्डलगायत स्वास्थ्यसामग्री प्रदान गरिएको संघले जनाएको छ ।
यसअघि संघले तामाङ पत्रकारहरूलाई लकडाउनले पारेको प्रभावबारे अध्ययन गरेको थियो । सोही अध्ययनका आधारमा राहत आवश्यक पर्ने पत्रकारहरू पहिचान गरी वितरण गरिएको संघका महासचिव तथा राहत समन्वय समितिका संयोजक बुद्ध योन्जनले जानकारी दिए।
उक्त कार्यमा संघलाई अमेरिका निवासी तामाङ समुदायका चारजना र काठमाडौंस्थित दुईवटा संस्थाले सहयोग गरेका थिए। अमेरिकाको न्युयोर्कस्थित एभरेस्ट टाइम्स पत्रिकाका सम्पादक, समाजसेवी तथा तामाङ पत्रकार संघका सल्लाहकार ङिमा पाख्रिनको पहलमा ५ सय अमेरिकी डलर (६० हजार रूपैयाँ) सहयोग प्राप्त भएको थियो ।
सम्पादक पाख्रिनसँगै समाजसेवी तथा तामाङ साँस्कृतिक तथा बौद्ध केन्द्र (ट्रस्ट) का संयोजक इन्द्र तामाङ , डल्लास टेक्सासका सूर्य मोक्तान र नेपाल बुलेटिनका प्रधानसम्पादक मानछिरिङ तामाङले आर्थिक सहयोग गरेका छन् । कोरोना महामारीका बेला फ्रन्टलाइनमा खटिने तामाङ पत्रकारका लागि स्वास्थ्य सामग्री उपलब्ध गराउन सहयोग गरिएको उनीहरूले बताएका छन्।
यसैगरी बौद्ध तामाङ कल्याण गुठीले १० बोरा (२५ केजीको) चामल र २५ केजी दाल उपलब्ध गराएको थियो। उक्त सामग्री गुठीका पदाधिकारीहरूले बागबजारस्थित संघको कार्यालयमै ल्याएर हस्तान्तरण गरेका थिए । गुठीले लकडाउनको अवधिमा सयौं प्रभावित व्यक्ति तथा संस्थाहरूलाई सहयोग गरेको जानकारी दिएको छ। यही क्रममा संघको आग्रहअनुसार तामाङ पत्रकारहरूका लागि खाद्यसामग्री उपलब्ध गराइएको जनाएको छ ।
यसैगरी, कान्छीमाया तामाङ–गोरे लामा फाउन्डेसनले तामाङ पत्रकारहरूका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो। फाउन्डेसनले कूल १५ हजार रूपैयाँ बराबरको केएन ९५ मास्क, ह्यान्ड स्यानिटाइजर तथा फेस शिल्डलगायत सामग्री उपलब्ध गराएको हो । फाउन्डेसनकी सल्लाहकार सानुमाया लामाले तामाङ पत्रकार संघलाई उक्त सामग्री हस्तान्तरण गरेकी थिइन्। उनले महामारीका बेला जोखिम मोलेर काम गरिरहेका पत्रकारहरूलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।
संघका अध्यक्ष विष्णु तामाङले सहयोगी संस्था तथा व्यक्तिहरूलाई धन्यवाद व्यक्त गरेका छन् । लकडाउन अवधिमा रोजगारी गुमेका, नियमित तलब नपाएका, तलब कटौती भएका तथा अन्य समस्यामा परेका पत्रकारहरू पहिचान गरी सहयोग गरिएको उनले बताए । यसअघि संघले देशभर क्रियाशील १०५ जना तामाङ पत्रकारको प्रतिव्यक्ति १ लाख रूपैयाँ बिमांकको ‘कोरोना बिमा’ गरेको थियो।
बिमा गरिएकामध्ये ८२ जनाको नेपाल तामाङ घेदुङको सहयोगमा र बाँकी २३ जनाको संस्था आफैंले बिमा गरिदिएको संघले जानकारी दिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-