माघ २४ – भूकम्पका कारण भत्किएका दोलखाका अधिकांश स्वास्थ्य संरचनाको पुनर्निर्माण हुन सकेको छैन । भूकम्प गएको २२ महिना बित्न लाग्दासमेत अधिकांश स्वास्थ्य संस्थाको भवन निर्माण नहुँदा भूकम्प प्रभावित जिल्लाका नागरिकहरु थप मारमा परेका छन् ।
स्वास्थ्य संस्थाको भवन नभएकै कारण औषधी राख्न समस्या भएको, बिरामीलाई राख्ने ठाउँ नहुँदा प्रभावकारी सेवा दिन नसकेको स्वास्थ्यकर्मीहरुले बताउने गरेका छन् ।
२०७२ साल वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पका कारण दोलखाको ५० भन्दा बढी स्वास्थ्य संस्थाको भवन पूर्ण रुपमा क्षति भएको थियो । त्यसमध्ये झण्डै ३६ स्वास्थ्य संस्थाको भवन विभिन्न सघंसस्थाले पुनर्निर्माण गर्ने जिम्मा लिएको थियो तर अहिलेसम्म झण्डै १८ वटा स्वास्थ्य संस्थाको भवन मात्रै पुनर्निर्माण भएका छन् ।
त्यसमध्ये एउटा पक्की भवन हो भने अन्य १७ वटा अस्थायी किसिमका भवन हुन् । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका अनुसार विभिन्न सघंसंस्थाले सम्झौता गरेको पाँच महिनाभित्र स्वास्थ्य संस्थाको भवन पुनर्निर्माण गरिसक्ने बताएको थियो तर भूकम्प गएको केही समयपछि जिल्लामा आएका संघसंस्थाले काम सुरु गरेको झण्डै २० महिनाभन्दा बढी समय भइसक्दासमेत आधा स्वास्थ्य संस्थाको भवन मात्रै पुनर्निर्माण गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार माथिल्लो तामाकोशी आयोजनाले लामावगर गाविसस्थित स्वास्थ्य संस्थाको एउटा पक्की भवन बनाएको हो । न्याय हेल्थ नेपालले दोलखाको २१ स्वास्थ्य संस्थाको भवन पुनर्निर्माण गर्ने सम्झौता गरेकोमा अहिलेसम्म १२ वटाको मात्रै निर्माण भएका छन् ।
यसैगरी युनिसेफले ११ वटा स्वास्थ्य संस्थाको भवन पुनर्निर्माण गर्ने जिम्मा लिएकोमा अहिलेसम्म एउटाको मात्र काम सम्पन्न गरेको बताएको छ । सेभ द चिल्ड्रेनले २ वटा लिएकोमा २ निर्माण गरेको छ भने वल्र्ड भिजन इन्टरनेश्नल नेपालले पनि २ वटा बनाउने भनेकोमा २ वटाको नै काम सम्पन्न गरेको बताएको छ । बाँकी १८ मध्ये पनि १० वटा भन्दा बढी स्वास्थ्य संस्थाको भवन पुनर्निर्माणको काम नै सुरु हुन नसकेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
कार्यालयका वरिष्ठ जनस्वाथ्य अधिकृत डम्बर थोकरले पनि लामो समयसम्म स्वास्थ्य संस्थाको भवन निर्माण हुन नसक्दा सेवाग्राहीलाई समस्या भएको स्वीकार गर्दै स्वास्थ्य संस्थाको भवन समयमा निर्माण सम्पन्न गर्न भनी सम्बन्धित सघंसंस्थालाई पटक पटक आग्रह गरिरहेको बताउनुभयो । केही स्थानमा निर्माण सामग्री लान समस्या भएको र केहीमा स्थानीयस्तरमा देखिएका समस्याका कारण निर्माण हुन नसकेको बताइएको छ । (साभार उज्यालो)
प्रतिक्रिया लेख्नुहोस्:-