कांग्रेस निकट नेपाल विद्यार्थी संघको एउटा समूह र नेत्रविक्रम चन्द नेतृत्वको माओवादी निकट विद्यार्थी संगठनले राजधानीका विभिन्न कलेजमा ताल्चा लगाएपछि स्वतन्त्र विद्यार्थी युनियनको चुनावको मतदाता नामावली प्रकाशन अवरुद्ध भएको छ ।
त्रिविको चुनाव तालिकाअनुसार स्ववियु चुनावका लागि कलेजहरूले आइतबार मतदाता नामावली प्रकाशन गर्नुपर्थ्यो । त्रिभुवन र नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतका कलेजमा फागुन १४ मा स्ववियु चुनावको मिति तोकिएको छ । नेविसंघका असन्तुष्ट समूह, चन्द माओवादीनिकट विद्यार्थी र अन्य साना विद्यार्थी संगठनले आफ्ना माग पूरा नभएको भन्दै कलेजमा ताल्चा लगाएपछि स्ववियु चुनाव तालिका बिथोलिएको छ ।
आइतबार राजधानीका कुनै पनि कलेजमा मतदाता नामावली प्रकाशन हुन सकेन । आफ्नो माग बेवास्ता गर्दै मतदाता नामावली प्रकाशन गरिन लागेको भन्दै असन्तुष्ट विद्यार्थीले रत्नराज्य, पाटनलगायत केही कलेजमा तोडफोडसमेत गरेका छन् ।
स्ववियुमा उम्मेदवारी दिने उमेरहद २८ वर्ष तोकेकोमा नेविसंघको एउटा असन्तुष्ट समूह र विप्लव माओवादी निकट विद्यार्थीसहित साना विद्यार्थी संगठनले विरोध गर्दै आएका थिए । उनीहरूले उम्मेदवारको उमेरहद हटाउनुपर्ने आफ्नो माग पूरा नभएको भन्दै राजधानीको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस, विश्वभाषा क्याम्पस, नेपाल कमर्स क्याम्पसलगायत राजधानीका मुख्य कलेजमा ताला लगाएका छन् ।
त्रिवि शिक्षाध्यक्ष तथा स्ववियु चुनाव समन्वय समिति संयोजक प्राडा सुधा त्रिपाठीले उपत्यकाका कुनै पनि क्याम्पसबाट मतदाता नामावली सार्वजनिक भएको जानकारी नपाएको बताइन् । ‘केही क्याम्पस प्रमुखले त मतदाता नामावली स्थगनको सूचना सार्वजनिक गरौं भनेर सोध्नुभएको थियो तर मैले आफ्नो अनुकूल हेरेर निर्णय गर्नुहोला भनें’, त्रिपाठीले भनिन् ।
पाटन क्याम्पस प्रमुख माधव गौतमले मतदाता नामावली प्रकाशन गर्न लाग्दा असन्तुष्ट विद्यार्थी आएर मूलद्वारमा ताल्चा लगाइदिएको बताए । ‘हामी नामावली प्रकाशन गर्न लागेका बेला मूलद्वारमै ताला लगाएपछि प्रक्रिया अघि बढाउन सकेनौं । अब के गर्ने भन्न सक्दैनौं’, गौतमले भने ।
नेविसंघका काठमाडौं जिल्ला अध्यक्ष तथा पशुपति क्याम्पसका निवर्तमान सभापति मनोज वैद्यले २८ बर्से उमेरहद लागू गर्नु अव्यावहारिक भएको बताए । ‘पार्टी नेताहरू ८० वर्षसम्म पदमा बसिरहने, विद्यार्थीलाई भने २८ वर्ष पुगेकाले राजनीति नगर भन्ने ? ‘ उनले भने, ‘हामी मान्दैनौं ।’
उमेर हदबन्दी खारेजीको माग गर्दै उनीहरूले सर्वोच्चमा मुद्दा दायर गरेका छन् । मुद्दाको पेशी फागुन १२ गते तोकिएको छ । ‘अदालतको निर्णय मान्न तयार छौं । तर केही नेता र त्रिविको निर्णय मान्दैनौं’, वैद्यले भने ।
वैद्य नेतृत्वको समूहले उमेर हदबन्दीको विरोध गरे पनि संस्थापन पक्षले भने चुनावमा जाने निर्णय गरिसकेको छ ।
कांग्रेसले पनि चुनावमा भाग लिन नेविसंघलाई निर्देशन दिइसकेको छ ।
कांग्रेस, एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनले शनिबार बैठक गरी जुनसुकै परिस्थितिमा पनि यसपल्ट स्ववियु निर्वाचन हुनुपर्ने र यसका लागि आवश्यक परे त्रिविलाई सघाउन तयार रहेको बताएका थिए । त्रिविले सफलतापूर्वक स्ववियु चुनाव सम्पन्न गर्न आफूलाई सहयोग गर्न विद्यार्थी संगठनसँग आग्रह गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-