फागुन ४/एजेन्सी – म्यानचेस्टर सिटीका ब्राजिलियन फरवार्ड गाब्रिएल जिससको पाइतालाको हड्डी भाँचिएको पुष्टि भएको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति बोर्नमाउथसँगको खेलको क्रममा जिसस चोटग्रस्त भएका थिए ।
यही जनवरीमा सिटी आएका जिससले यसअघिका दुई खेलमा तीन गोल गरेका थिए । बोर्नमाउथसँगको खेल जिससको प्रिमियर लिगमा सिटीबाट तेस्रो खेल थियो । १९ वर्षका जिसस खेलको १४ औं मिनेटमा चोटग्रस्त भएर मैदान बाहिर गएका हुन् । म्यानचेस्टर सिटीले विज्ञप्ति निकालेर जिससको पाइतालाको हड्डी भाँचिएको जनाएको हो ।
उनी कति समयसम्म मैदान बाहिर रहन्छन् भन्ने अब आउने दिनमा गरिने थप परीक्षणबाट थाहा हुने सिटीले जनाएको छ । पाइतालाको औलालाई गोलगाँठोसँग जोड्ने पाँच हड्डी मध्ये एक हड्डी भाँचिएको हो । यसका लागि चारदेखि ८ हप्तासम्म आराम गर्नु पर्छ । सिटी आएदेखि नै प्रशिक्षक पेप गार्डिवला तथा समर्थकलाई प्रभावित पार्न सफल भएका जिसस बल नियन्त्रणमा लिने क्रममा चोटग्रस्त भएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-