अरुले जस्तो कलम घुमाएर,
शब्दरुपी तस्बिर कोर्न सक्दिन ।
भाब बिनाका शब्दका केस्राहरु,
छुट्याएर पाठकलाई पस्किन सक्दिन
त्यसैले म कवि होईन ।।
सेक्शपियरले जे लेखे पनि
कविता बन्थ्यो, कलम नचाउदै
कविताहरुको आविस्कार गर्थे ।
लक्ष्मी प्रसादको शब्दहरुको
साना छर्राहरुले पनि कविताको रुप लिन्थ्यो ।
म छर्रा प्रहार गर्न सक्दिन,
कलम नचाउन सक्दिन
त्यसैले म कवि होईन ।।
कवि बन्न समुन्द्रमा तैरिनु पर्छ रे!
कालो ओढारमा बिथोलिनु पर्छ रे!
मलाई समुन्द्र देखेर डर लाग्छ
ओढार देखेर काहालि लाग्छ
त्यसैले म कवि होईन ।।
शब्दहरुको मालालाई कविता भन्छन ।
मेरो शब्दको बगैंचा छैन
धागो पनि जृण भैसक्यो ।
सियोको धारमा खिया रंगिसके
म माला उन्न सक्दिन
त्यसैले म कवि होईन ।।
हो ! म कवि होईन ।।
—प्रमोद भट्टराई
प्रतिक्रिया लेख्नुहोस्:-