इसरोकार संवाददाता २८ फागुन, सप्तरी । अन्य दिन हाँसेर उपस्थित हुने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुको अनुहार पुरै मलिन देखियो । मोर्चाका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो र अनिल झासहितका नेताहरु चिन्तित मुद्रामा सप्तरी प्रवेश गरे । र, चिन्ताकाबीच आक्रोश पोखे l
सप्तरीको मलेठ गाविसमा गत फागुन २३ गते प्रहरीको गोली लागि मृत्यु भएका पाँच जनालाई श्रद्धाञ्जली व्यक्त गर्न शनिबार दिउँसो राजविराज आएका यी तीन नेताले भने, ‘अब आन्दोलनको विकल्प छैन ।’
श्रद्धाञ्जली व्यक्त पश्चात शव यात्रामा सहभागी हुन आ-आफ्नो गाडीमा बसेका नेताहरुले गाडीबाटै संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सरकारलाई दिएको समर्थन फिर्ता भइसकेको बताए । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने, ‘समर्थन फिर्ता भइसकेको छ । औपचारिकता दिन मात्रै बाँकी छ ।’
उनले समर्थन फिर्ता भइसकेको भनेर बुझ्न सबैसँग आग्रह गरे । ‘अन्याय, अत्याचार र विभेदबिरुद्ध आन्दोलन शुरु गर्ने बताउँदै उनले एक-दुई दिनमै आन्दोलन घोषणा गरिने बताए ।
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारलाई सात दिनको समय बित्न दुई दिन बाँकी रहेको बताउँदै यो अवधीमा स्वतः समर्थन फिर्ता हुने बताए । उनले समर्थन फिर्ता लिएपछि तत्कालै आन्दोलन शुरु गर्ने जानकारी दिए । मलिन स्वरमा बोलेका उनले भने, ‘अब अन्याय, अत्याचार सहन्नौं ।’
नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल कुमार झाले सरकारलाई दिएको एक हप्ताको समय सकिनेबित्तिकै आन्दोलन प्रारम्भ हुने उदघोष गरे । उनले अब हुने आन्दोलन शान्तिपूर्ण नै हुने बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-