इसरोकार संवाददाता १ चैत, काठमाडौं । उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाले सोमबार रिपोर्टस क्लवमा उभिएर संविधान संशोधन प्रस्ताव अघि बढाइए राप्रपा सरकारबाट बाहिरिने चेतावनी दिए । सरकारमा सहभागी भएको तीन दिनमै समर्थन फिर्ताको चेतावनी आएपछि राप्रपा भित्र र बाहिर यसको कारण खोज्न थालिएको छ ।
उपप्रधानमन्त्री थापाले त्यही मञ्चबाट सरकारलाई दिएको सार्थन फिर्ता लिने चेतावनी दिएका हुन्, जुन रिपोर्टस क्लबकै मञ्चबाट आइतबार डा. प्रकाशचन्द्र लोहनीले राप्रपा परित्याग गर्ने घोषणा गरेका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेको संविधान संशोधन प्रस्तावका कतिपय बुँदाहरु राष्ट्रिय हित विपरीत रहेको बताउँदै आएको छ । उसको महाधिवेशहनबाट पारित राजनीतिक प्रतिवेदनमा यस्तै लाइन पारित भएको छ । र, तत्कालै सरकारमा सहभागी नहुनेसमेत राप्रपाले निर्णय गरेको थियो । यस्तो अवस्थामा रातारात सरकारमा सहभागी भएपछि कमल थापाको पार्टी राप्रपाभित्र कार्यकर्ताहरुमा चर्को असन्तुष्टि देखिएको छ ।
र, अध्यक्ष थापाले पार्टीभित्रका यिनै असन्तुष्ट नेता कार्यकर्ताहरुको खपतका लागि सोमबार रिपोर्टर्स क्लवमा त्यस्तो भाषण गरेको सत्तापक्षका नेताहरुको टिप्पणी छ ।
प्रतिक्रिया लेख्नुहोस्:-