इसरोकार संवाददाता १ चैत, नेपालगञ्ज । नेकपा एमालेको मेची-महाकाली अभियानअन्तर्गत नेपालगन्जमा मधेसी मोर्चाले अवरोध गरेपछि आमसभास्थल परिवर्तन गरिएको छ ।
यसअघि आमसभास्थल रामलीला मैदानमा गर्ने तयारी गरिएको थियो । तर, त्यसलाई सारेर सडक डिभिजन कार्यालयमा आमसभा आयोजना गरिँदैछ । मधेसी मोर्चाले एमालेको आमसभालाई लक्षित गरी मंगलबार नेपालगञ्ज बन्द आह्वानसमेत गरेको छ । लामो दुरीका गाडीहरु नचले पनि ई-रिक्सा लगायत साना सवारी साधनहरु फाट्टफुट्ट चलेका छन् ।
आमसभाका लागि बिभिन्न क्षेत्रबाट सर्बसाधारणलाई गाडीहरुमार्फत् ओसारिएको छ । सोनपुर र उढरापुरमा कार्यकर्ता बोक्न गएका गाडीहरुलाई भने मधेसी मोर्चाका कार्यकर्ताहरुले रोकेका छन् ।
मधेसी मोर्चाको बन्द र एमालेको आमसभामा अप्रिय घटना नहोस् भनेर सुरक्षा व्यवस्था कडा पारिएको छ । चोक-चोकमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति छ ।
प्रतिक्रिया लेख्नुहोस्:-