चैत्र ९ – धानमन्त्री पुष्पकमल दाहाल १५ सदस्यीय टोलीसहित चैत १० मा चीन भ्रमणमा जाने भएका छन् । उनी साताव्यापी औपचारिक भ्रमणमा चीन जाँदैछन् । बुधबार बस्ने मन्त्रिपरिषद् बैठकले भ्रमणसम्बन्धी निर्णय गर्नेछ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रकाशशरण महत, प्रधानमन्त्री पत्नी सीता दाहाल, प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाश दाहाल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य र परराष्ट्रसचिव शंकरदास बैरागी छन् ।
परराष्ट्रमा चीन महाशाखा प्रमुख गणेश ढकाल, शिष्टाचार महापाल दीपक अधिकारी, उपसचिव दधीराम भण्डारी, अधिकृत प्रथमा उप्रेती, दुई सुरक्षाकर्मी, सरकारी सञ्चारमाध्यमका दुई पत्रकार, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, उपसचिव हरिश्चन्द्र घिमिरेलगायत छन् । स्रोतका अनुसार चिनियाँ पक्षले भ्रमणमा ११ जना मात्रै राख्न आग्रह गरेको थियो ।
यस्तो छ कार्यतालिका
कार्यतालिकाअनुसार प्रधानमन्त्री दाहाल चैत १० गते राति ग्वान्जाओ हुँदै चीनको हाइनान प्रस्थान गर्नेछन् । १२ गते बिहान हाइनानमा हुने बोआओ फोरम फर एसिया सम्मेलनमा प्रधानमन्त्री दाहाल मुख्य अतिथि हुनेछन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि खछ्याङ सम्मेलनमा आउने छैनन् । उपप्रधानमन्त्री झाङ गाओलीले सम्मेलन उद्घाटन गर्नेछन् । बोआओ सम्मेलनअघि हाइनानमै प्रधानमन्त्री र चिनियाँ उपप्रधानमन्त्री गाओलीबीच भेटवार्ता हुनेछ ।
प्रधानमन्त्री दाहाल हाइनानबाट चैत १३ गते राति राजधानी बेइजिङ पुग्नेछन् । चिनियाँ राष्ट्रपति सीसँग दाहालको भेट चैत १४ गते सोमबार हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । चिनियाँ प्रधानमन्त्री ली र विदेशमन्त्री वाङ यी अस्ट्रेलिया र न्युजिल्यान्ड भ्रमणमा हुने भएकाले दुवैसँग उनको भेट हुनेछैन । चिनियाँ उपराष्ट्रपति, चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखलगायतसँग दाहालले भेट गर्नेछन् ।
बेइजिङ फरेन स्टडिज युनिभर्सिटी र नेपाली दूतावासले बेइजिङमा आयोजना गर्ने ‘नेपाल-चीन सम्बन्ध र समभावना’ अन्तरक्रियामा प्रधानमन्त्री दाहालले सम्बोधन गर्नेछन् । उनले बेइजिङस्थित चिनियाँ व्यापारीसँग नेपालमा लगानीका सम्भावनाबारे राउन्ड टेबल छलफल गर्नेछन् । दूतावासले चैत १२ गते आयोजना गर्ने रात्रीभोजमा उनी सहभागी हुनेछन् ।
प्रधानमन्त्री दाहाल चैत १५ गते चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमणमा निस्कनेछन् । ल्हासामा उनले तिब्बतका स्थानीय सरकार प्रमुख तथा त्यहाँका गभर्नरसँग भेटवार्ता गर्नेछन् । एक दिन ल्हासा बसेर १६ गते उनी स्वदेश फर्किनेछन् ।
भ्रमणका एजेन्डा
प्रधानमन्त्री दाहालको चीन भ्रमणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पालामा भएका सम्झौता कार्यान्वयनबारे समीक्षा हुने भएको छ । चीनले नयाँ सम्झौता गर्नुभन्दा पनि पहिले भएका सम्झौता र समझदारी कार्यान्वयनमा बढी जोड दिएको छ ।
ल्हासा-काठमाडौं विद्युत् प्रसारण लाइन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर हुने सम्भावना रहेको एक सरकारी अधिकारीले बताए । चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ अवधारणामा नेपालको सहभागिताबारे सम्झौतापत्रमा हस्ताक्षर गर्न नेपालले चाहेको भए पनि चिनियाँ पक्षले मंगलबार साँझसम्म त्यसबारे सहमति जनाइनसकेको परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले बताए । ‘चिनियाँ पक्ष राजी भए वान बेल्ट वान रोड अवधारणामा नेपालको सहभागिताबारे ठोस समझदारी हुनसक्छ’ स्रोतले भन्यो ।
तिब्बतको केरुङदेखि काठमाडौंसम्म रेल सम्पर्क विस्तारसम्बन्धी ठोस समझदारी गर्ने, नेपाल चीन जोड्ने अरनिको र स्याफ्रुबेसी-रसुवागढी राजमार्गको स्तरोन्नतिमा चीनले सहयोग गर्ने समझदारीपत्रमा हस्ताक्षर हुने सम्भावना रहेको अधिकारीले बताए । चीनको आग्रहमा नेपाल-चीन स्वतन्त्र व्यापार सम्झौता सम्बन्धमा वार्ता भैरहे पनि टुंगिएको छैन । सीमापार विशेष आर्थिक क्षेत्र निर्माण गर्ने, इन्धन भण्डारणका लागि चीनको प्राविधिक सहयोगलगायत विषयमा पनि भ्रमणमा छलफल हुनेछ । काठमाडौंस्थित चिनियाँ दूतावासका एक अधिकारीले भ्रमणमा महत्ववपूर्ण सम्झौता नहुने बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-