चैत्र ९- सन् २००३ मा सांगीतिक आकाशमा उडान भरेकी गायिका रिहानाले त्यसको चार वर्ष पनि बित्दा–नबित्दै ग्रामी अवार्ड जितेकी थिइन् । तेस्रो स्टुडियो एल्बम ‘गुड गर्ल गोन ब्याड’ को ‘अम्ब्रेला’ गीतले उनलाई उत्कृष्ट र्यापरका रूपमा ग्रामी दिलाएको थियो ।
त्यसयता रिहानाले आठ ग्रामी जितिसकेकी छन् । उनी अहिलेकी बेस्ट–सेलिङ म्युजिक आर्टिस्ट पनि हुन् । उनै गायिकाले अब भने आफ्नो परिचय बढाउने भएकी छन् ।
उनी अमेरिकी साइको–हरर टेलिभिजन सिरिज ‘बेट्स मोटेल’ मा देखिने भएकी हुन् । यसमा उनले म्यारिअन क्रेनको भूमिका निर्वाह गर्नेछिन् । उक्त चरित्रलाई सन् १९६० को फिल्म ‘साइको’ मा ज्यानेट लेघले पहिल्यै चर्चित बनाइसकेकी थिइन् । यति बेला आफ्नो म्युजिक टुरलाई नै स्थगित गरी गायिकाले सिरियलका दुई भागका लागि अभिनयसमेत गराइसकेकी छन् ।
‘उनीमा अधिक चमक छ,’ सिरिजका कार्यकारी निर्माता कार्लटोन कुजले रिहानाको प्रशंसा गर्दै भनेका छन्, ‘केही गायिकाहरू यति बेला अभिनयमा पनि सफल रूपान्तरित भइरहेका छन् । मलाई लाग्दैन, यो केवल संयोग मात्रै हो । मलाई त धेरै कलाकारमध्ये यिनैको अभिनय बढी मन पर्छ ।’
यसअघि रिहानाले पनि उक्त सिरियल आफूलाई मन पर्ने र फ्यान रहेको बताएपछि यति बेला स्वयं अनुबन्ध नै भएकी हुन् । सोमबार अन एयर हुने सिरियलमा म्यारिअन बनेर खेल्ने भएपछि साता दिनका लागि आफ्नो वर्ल्ड टुर नै स्थगित गर्न उनी सहमत भएकी थिइन् ।
प्रतिक्रिया लेख्नुहोस्:-