इसरोकार संवाददाता इलाम चैत्र २६ – डिफेन्डिङ च्याम्पियन झापा ११ र नेपाल आर्मी क्लबबिच शनिबार माइभ्याली गोल्डकप फुटबलको फाइनल खेल हुँदैछ । आर्मीले नेपाल पुलिस क्लब र झापाले एपिएफलाई हराएर फाइनलमा स्थान बनाएको हो ।
झापाले यस वर्ष काँकडभिट्टा गोल्डकपको उपाधि जितेको थियो । आर्मीले यस वर्ष सिमरा गोल्डकप, दुहवी गोल्डकप र हेटाैँडा गोल्डकप जितिसकेको छ । अहिलेसम्म आर्मीले झापासँगको चार भेटमा तीन खेलमा आफ्नो जित निकालि सकेकोे छ । आर्मीले यस सिजनमा आहा गोल्डकपको क्वाटरफाइनलमा झापालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
राष्ट्रिय खेलाडीको बाहुल्यता भएको आर्मीका टिमले निर्धारित समयको ९० मिनेटमा नै झापालाई जित्ने रणनीतिका साथ खेल्ने आर्मीका प्रशिक्षक नविन न्यौपानेले बताउनु भयो ।
झापाका टिम कप्तान प्रवेश कट्टुवालले भने डटेर खेल्ने शैली नै जितको एक मात्र रणनिति भएकोले त्यही अनुरुप खेल्ने र जित आफ्नो पक्षमा पार्ने बताउनु भएको छ ।
आर्मीका स्ट्राइकर नवयुग श्रेष्ठ मैदान उत्रने छैनन् । उनी स्वास्थ्य समस्याका कारण आराममा छन् । झापाका टिममा भने नँया खेलाडीलाई बढी स्थान दिइएको छ । माइभ्यालीको तेस्रो संस्करण जित्ने दुवै टिमले दाबी गरेका छन् ।
माइभ्याली फुटबल क्लव र जिल्ला फुटबल संघ इलामको संयुक्त आयोजनामा भएको यस प्रतियोगिताका बिजेताले नगद चारलाख उपविजेताले नगद दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताकै उत्कृष्ट खेलाडिले एकसय ५० सिसिको यामाहा मोटरसाइकल प्राप्त गर्ने र हाई स्कोररलाई नगद पच्चीस हजार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-