एजेन्सी प्योंग्यांग, उत्तर कोरियाले अमेरिकालाई आफ्नो क्षेत्रमा उत्तेजनात्मक गतिविधि नगर्न चेतावनी दिँदै प्योङयाङविरुद्ध कुनै कारबाही गरिए परमाणु अस्त्रले जबाफ दिने बताएको छ । संस्थापक नेता किम इल सङको १०५औँ जन्मजयन्तीको अवसरमा शनिबार राजधानी प्योङयाङमा आयोजित समारोहमा उत्तर कोरियाले सो चेतावनी दिएको थियो ।
सैन्य सामग्रीको परेड
सो अवसरमा सेनाले ट्यांक तथा अन्य सैन्य सामग्रीहरूको परेड आयोजना गरेको थियो । अमेरिका र कोरियाबीचको तनाबले द्वन्द्व निम्त्याउने चिन्ता बढिरहेकै वेला सेनाले भव्य शक्ति प्रदर्शन गरेको हो । संस्थापक नेताको जन्मजयन्तीको अवसर पारेर केही दिनभित्र कोरियाली नेता किम जोङ उनले नयाँ परमाणु परीक्षणको निर्देशन दिने अनुमान बिबिसीले गरेको छ ।
शक्ति प्रदर्शन
किम इल सङ स्क्वायरमा आयोजित शक्ति प्रदर्शनमा सैनिकहरूले कवाज र मार्चपास गरेका थिए । अमेरिकाले कोरियाली प्रायद्वीपमा युद्धपोत परिचालन गरिरहेकै वेला उत्तर कोरियाले शक्ति प्रदर्शन गरेको हो । प्रदर्शनीमा पहिलोपटक पुकुसोङ पनडुब्बीमा मार हान्ने ब्यालिस्टिक क्षेप्यास्त्र राखिएको थियो । सो क्षेप्यास्त्रले विश्वको कुनै पनि क्षेत्रमा मार हान्न सक्ने दाबी गरिएको छ । शनिबारको परेड उत्तर कोरियाको वर्तमान सैन्य क्षमतालाई प्रदर्शन गर्ने अवसर बताइएको छ ।
अप्रिय घटना हुने चीनको चेतावनी
चीनका विदेशमन्त्री वाङ यीले कोरियाली प्रायद्वीपमा कुनै पनि वेला अप्रिय घटना हुन सक्ने चेतावनी दिँदै युद्ध निम्तिएमा कसैको पनि जित नहुने बताएका छन् । यसअघिका परेडहरूमा चिनियाँ प्रतिनिधिहरूको उपस्थित हुने गरेको भए पनि शनिबार भने कुनै चिनियाँको सहभागिता थिएन ।
पाँचपटक परमाणु परीक्षण
उत्तर कोरियाले पाँचवटा परमाणु परीक्षण र शृंखलाबद्ध मिसाइल प्रक्षेपण गरेको छ । उत्तर कोरियाले अमेरिकालाई मार हान्ने आणविक क्षेप्यास्त्रको विकास गर्न लागेको विज्ञ र सरकारी अधिकारीहरूको विश्वास छ ।
गत साता मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले उत्तर कोरियालाई नियन्त्रण राख्न चीनको सहयोग मागेका थिए । ‘चीनले सहयोग गरेमा त्यो महान् हुनेछ । बेइजिङले सहयोग नगरेमा प्योङयाङलाई ठेगान लगाउन अमेरिका एक्लै काफी छ,’ उनले भनेका थिए । यसैबीच, अमेरिकी उपराष्ट्रपति माइक पेन्स एसियाको १० दिने भ्रमणका क्रममा आइतबार दक्षिण कोरिया पुग्दै छन् ।
‘अमेरिकाले हमला गरे गतिलो जबाफ दिन्छौँ’
अमेरिकाले उत्तर कोरियामाथि हमला गरेमा प्योङयाङले प्रत्याक्रमण गर्न उत्तर कोरिया तयारी अवस्थामा रहेको उत्तर कोरियाका एक शक्तिशाली नेताले बताए । ‘हामी कुनै पनि प्रवृत्तिको युद्धलाई जबाफ दिन तयार छौँ,’ नेता चोइ रोङ हेईले भने । हेई उत्तर कोरियाली नेता किम जोङ उनपछिका दोस्रो ठूला शक्तिशाली नेता हुन् । ‘कुनै पनि प्रकारका आणविक आक्रमणलाई हामी आफ्नै शैलीको परमाणु हमलाबाट जबाफ दिन्छौँ,’ उनले चेतावनी दिए । अमेरिकाले एक सातादेखि कोरियाली प्रायद्वीपमा कार्ल भिनसन नामक युद्धपोत र अन्य लडाकु समूह परिचालन गरेको छ । अमेरिकाले कुनै पनि वेला उत्तरलाई क्षेप्यास्त्र हमला गर्ने विश्व समुदायले अनुमान गरिरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-