बैशाख ५-तेह्रथुमको जिरीखिम्तीदेखि मोराहाङ जोड्ने १२ किलोमिटर सडकको स्तरोन्नतिको काम थालिएको छ । करिब एक दशकअघि नै सडकको ट्रयाक खोलिए पनि नियमित मर्मत र स्तरोन्नति नहुँदा स्थानीयले सास्ती बेहोर्न बाध्य थिए ।
उक्त सडक आगामी भदौ महिनाभित्रै काम सक्ने गरी सडक डिभिजन कार्यालय धनकुटाले कञ्चजङ्घा, पाण्डुकेशर र वाइपीआर निर्माण सेवासँग ठेक्का सम्झौता गरेको छ । निर्वाचन क्षेत्र सडकअन्तर्गत रु पाँच करोड लागतमा सडकको स्तरोन्नति थालिएको सडक डिभिजन कार्यालयका इन्जिनियर सचिन श्रेष्ठले जानकारी दिए ।
यस वर्ष छ किलोमिटर ग्राभेलसहित नाली निर्माण, ग्याभिङ, फिलिङलगायत निर्माणका काम गरिने सडक डिभिजन कार्यालयले जनाएको छ । सडक निर्माणपछि यहाँका जिरीखिम्ती, आम्बुङ, मोराहाङ, श्रीजुङ, पौठाकलगायत गाउँबासीलाई सदरमुकाम म्याङलुङ तथा पूर्वी तराईसम्म पुग्न सहज हुने जिरीखिम्तीका श्रीप्रसाद कार्कीले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-