इसरोकार संवाददाता ६ बैशाख, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चालाई कसरी सहमतिमा ल्याउने र कसरी चुनाव सम्पन्न गर्ने भन्ने विषयमा प्रमुख पाँच दलका शीर्ष नेताहरुसँग परामर्श गरेका छन् । प्रधानमन्त्री प्रचण्डको आह्वानमा बुधबार बिहान बालुवाटारमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुको बैठक बसेको छ ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चा सहमतिमा आए दुई चरणमा चुनाव गर्न सकिन्छ भन्ने तर्क आइरहेको भन्दै नेताहरुको धारणा मागेका थिए ।
बैठकपछि गृहमन्त्री विमलेन्द्र निधिले भने, ‘प्रधानमन्त्री जीले मधेसी मोर्चा सहमति भएर आउँछ भने दुई चरणमा चुनाव गर्ने पनि तर्क आइरहेको छ, यो तर्कलाई के गर्ने ? भन्नु भएको छ ।’
यो सरकारको प्रस्ताव नभएको उनले स्पष्ट पारे । उनले बैशाख ३१ गते जसरी भए पनि चुनाव गर्ने बताए । ‘बैशाख ३१ गते चुनाव गर्ने नै । यसमा कुनै भ्रममा नपर्नुहोला,’ निधिले भने, ‘अब मधेसी मोर्चा यदि आउनसक्ने सम्भावना छ भनेदेखि दुई चरणमा गएर पनि चुनाव गराउन सकिन्छ भन्ने यो तर्कलाई कुन रुपमा लिने भन्नेमात्र हो ।’
निधिले निर्वाचनका लागि सबै सुरक्षा प्रवन्ध मिलाइसकेको दाबीसमेत गरे । सुरक्षा प्रवन्धमा कुनै कमजोरी नरहने उनले बताए । ‘हामीले पाँचै विकास क्षेत्रमा सुरक्षा गोष्ठी गरेका छौं । निर्वाचनका लागि सबै सुरक्षा निकाय तयार छन्,’ गृहमन्त्री निधिले भने ।
प्रतिक्रिया लेख्नुहोस्:-