१ माघ, फिदिम । पाँचथरको फिदिम नगरपालीका ५ चोकमागुमा दुई जना नेत्रहिनको विजोक छ । साइनोमा आमाछोरा पर्ने दुवै जनाले आँखा देख्दैनन् । उमेर निकै ढल्किसकेका नेत्रहिन छोराले नै १०३ बर्षिय आमाको हेरचार गर्नुपर्ने भएपछि उनीहरुको अवस्था निकै नाजुक बन्दै गएको छ ।
फुसले छाएको सानो झुप्रो । अँध्यारो घरभित्र थोत्रिएका दुई चार ओटा भाडाकुँडा । घरको बाहिरपट्टि झुण्ड्याइएका पुराना कपडा । राती सुत्ने ओछ्यान घरको कुनै कुनामा देखिदैन । आँगनमा फाट्न लागेको परालको गुन्द्रिमाथि दुई जना जेष्ठ नागरिक बसेको देख्दा सबैको मन कुडिन्छ । माघको चिसोमा पनि फाट्न थालेका कपडा लगाएको देखिन्छ । मध्य जाडोमा उनीहरु दिनभरी घाम तापेर रातको चिसो काट्ने प्रयत्न गर्छन् ।
फिदिम नगरपालीका पाँच चोकमागुका यी दुई जना साइनोमा आमा छोरा हुन् । आमा लालमाया तामाङ एक सय तीन बर्ष पुगिन । छोरो मनिबहादुर तामाङ ६२ बर्षका भए । आमा मात्र हैन, छोराको उमेर पनि निकै ढल्किसक्यो । दुवै जनाको अनुहार चाउरीएको छ । आमा लालमायाले आँखाको ज्योती गुमाएको ४० बर्ष पुगिसक्यो । छोरा मनिबहादुरले पनि ३५ बर्ष भयो घाम अस्ताएपछि आँखा देख्न छाडेको । परिवारमा अरु सदस्य छैनन् । राती आँखा नदेख्ने तीनै मनिबहादुरले सय बर्ष काटेकी आमाको हेरचार गर्नुपर्ने बाध्यता छ । आँखाको ज्योती गुमाएका तामाङ आमाछोराको यस्तो कारुणिक कथा सुनेपछि जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारीको पहलमा शसस्त्र प्रहरी बल हिमशिखर गुल्मका प्रहरी नायब उपरीक्षक लोकेन्द्र भट्टले न्यानो कपडा सहित रासन सहयोग गरेको तामङ परिवार बताउँछन ।
तामाङ परिवारको यस्तो दुख निकै पहिलेदेखिको हो । मनिबहादुर जन्मेको एक बर्ष नपुग्दै बुवाको मृत्यु भएपछि उनीहरुको समस्याका दिन सुरु भए । आफु पनि घाम अस्ताएपछि आँखा नदेख्ने र आमाले आँखा नदेख्ने मात्र हैन हात पाउ बसेपछि झनै समस्या भएको पीडित मनिबहादुर बताउँछन् ।
कान राम्ररी सुन्छिन लालमाया । तर, यताउती सर्न समेत नसक्ने अवस्थामा छिन् उनी । घाम नअस्ताएसम्म आमाको हेरचाह गर्दै मनिबहादुर घरको काम गर्छन । घाम अस्ताएपछि घरको एउटा कुनामा झुत्रिएका लुगामा बेरीएर रात कटाउँछन् उनी । आफ्नो पनि हात पाउ बस्न लागेकाले आमा र आफ्नो प्राण बचाउन समस्या हुन थालेको मनिबहादुरको भनाई छ । उनीहरुको अलिकति पाखो बारी छ । बारीमा खेतीपाति लगाउन सक्न छाडेका छन् मनिबहादुर । मनिबहादुरका सन्तान छैनन् । जेठि श्रीमतिले छाडेर गएपछि दोस्रो विवाह समेत गरे उनले । विपन्नताकै कारण उनलाई दुवै जना श्रीमतीले छाडेर गएको मनिबहादुर बताउछन् ।
प्रतिक्रिया लेख्नुहोस्:-