काठमाण्डौ , १७ माघ – आफू वरिष्ठ डाक्टर भएको भन्दै विभिन्न अस्पतालमा विरामी जाँचेको आरोपमा पक्राउ परेका १७ जना विदेशी डाक्टरलाई प्रहरीले सार्वजनिक गरेको छ ।डाक्टरी पढेको कुनै प्रमाणपत्र पनि नभएको र नेपाल मेडिकल काउन्सिलबाट अनुमति पनि नलिइकनै विभिन्न रोग निको पार्ने र आफू वरिष्ठ चिकित्सक हो भन्दै विभिन्न अस्पतालमा काम गर्ने १३ जना चिनियाँ नागरिक, १ जना अष्ट्रेलियन नागरिक र अस्पताल सञ्चालक ३ जना नेपालीलाई पक्राउ गरेर ठगि मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।प्रहरीले एपोलो इन्टरनेश्नल पोली क्लिनिककी सञ्चालक मिना कुमारी श्रेष्ठसहित ८ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । यस्तै सिवाइडब्लुइसी अस्पताल लैनचौरका सञ्चालक प्रतिभा पाण्डेसहित एकजना अष्ट्रेलियन नागरिक, चाइना ग्रेटवालहेल्थ सेन्टर बौद्धका सञ्चालक नारायण तिमिल्सिनासहित २ जना चिनियाँ नागरिक, चाइना पिपुल्स हस्पिटल बौद्धबाट २ जना चिनियाँ नागरिक र चाइना डेन्टल हस्पिटल बौद्धबाट १ जनालाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएकोछ ।पक्राउ परेका अस्पतालका सञ्चालकहरुले विभिन्न सञ्चारमाध्यममा झुट्टा विज्ञापन दिई करोडौं रुपैयाँ ठगेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च नेपालले प्रहरीमा उजुरी दिएको थियो । उक्त उजुरीका आधारमा प्रहरीले सोमबार बेलुकी उनीहरुलाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-