भक्तपुर, ९ चैत ः भक्तपुर दुवाकोटकी ५३ वर्षीया मीना आलेमगर आइतबारदेखि शुरु हुने माध्यामिक शिक्षा परीक्षा अर्थात एसइईको तयारीमा व्यस्त हुनुहुन्छ । यस वर्षको एसइईमा सहभागी हुने भएपछि घरधन्दाका अतिरिक्त उहाँलाई पढाइको चटारो थपिएको छ ।
उहाँको १६ वर्षको उमेरमा विवाह भयो । हाल एक छोरी र दुई छोराकी आमा आलेमगरको सानोमा पढ्ने रहर पूरा भएन । त्यसैले २०६९ सालबाट आस्था महिला विद्यालयमा भर्ना भएर पढाइलाई निरन्तरता दिनुभयो ।
बैंकमा खाता खोल्न जादा कर्मचारीले अहिलेको युगमा पनि हस्ताक्षर गर्न आउँदैन भनेर प्रश्न गरे । त्यसले उहाँको मनमा चस्स घोच्यो । पढ्ने स्कुल खोज्ने क्रममा भक्तपुरको गठ्ठाघरस्थित उक्त विद्यालयमा आएर पढ्न शुरु गर्नुभयो । उहाँले भन्नुभयो, “आइतबारदेखि परीक्षा शुरु हुँदैछ, पढाइको चटारो छ, जसरी पनि परीक्षामा राम्रो नतिजा ल्याएर कक्षा १२ सम्म पढ्ने धोको छ ।” पढ्नलाई उमेरले छेक्दैन भन्ने उखान चरितार्थ गर्दै एसइईमा आस्था विद्यालयबाट १७ वर्षकी किशोरीदेखि ५३ वर्षकी आमाहरुसँगै सहभागी हुनुहुनेछ ।
मनभित्र चाहना र दृढ अठोट भए जस्तोसुकै काम पनि सफलतासाथ पूरा गर्न सकिन्छ भन्दै ५२ वर्षीया बेदकुमारी खत्रीलाई पनि परीक्षाको उस्तै चटारो छ । अहिलेका नयाँ पुस्तासँग हामी हजुरआमा उमेरकाले सँगै परीक्षा दिँदा ग्लानी नभई गर्व लाग्ने बताउँदै उहाँ यसले पढाइको महत्वलाई दर्शाउने बताउनुहुन्छ ।
यही विद्यालयमा अध्ययनरत ३४ वर्षीया गंगा थापामगर पनि सानोठिमीको एसएस हर्मन माईनर स्कुलमा पढ्ने छोरा रोशनसँग एसइई परीक्षा दिँदै हुनुहुन्छ । आस्था महिला विद्यालयमा भर्ना हुन आमा छोरा स्कुल खाज्दै आएको स्मरण गर्दै उहाँले भन्नुभयो, “आमाछोरा स्कुल खोज्दै आएर मैले पढ्न शुरु गरे, अहिले छोरासँगै परीक्षाको तयारी गरिरहेको छु, शुरुमा पढ्नुपर्दैन भन्ने श्रीमान् पनि अहिले खुशी हुनुहुन्छ, यसपछि १२ कक्षा पढ्ने इच्छा छ ।”
विसं २०६५ बाट सञ्चालन भएको आस्था महिला विद्यालयबाट सातौँ समूहले एसइई परीक्षा दिइसकेका छन् । यस वर्षको एसइईमा यो विद्यालयबाट १७ जना सामेल हुने विद्यालयका सहायक प्रार्चाय विणा देउजाले बताउनु भयो । यो विद्यालय सञ्चालनमा आएपछि सरकारका सचिव, सहसचिव, अधिकृत, शिक्षाका उच्च तहमा रहेका कर्मचारीका श्रीमतीदेखि अरुको घरमा काम गरेर बस्ने किशोरीसमेतले आफ्नो पढ्ने चाहना पूरा गर्दै आएको विद्यालयका संस्थापक प्राचार्य पार्वती ज्ञवाली बताउनुहुन्छ ।
यहाँबाट उत्तीर्ण भएर गएका महिलाले उच्च शिक्षा अध्ययनदेखि शिक्षण, भेटेनरी लगायतका विभिन्न पेशामा रोजगारीसमेत पाएर नयाँ जीवन पाएको उहाँले बताउनु भयो ।
प्रतिक्रिया लेख्नुहोस्:-