बैशाख , रसुवा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ३ नं प्रदेशको भेला तथा गोसाईकुण्ड गाउँपालिका भ्रमण वर्ष २०१९ कार्यक्रम रसुवा जिल्लाको धुन्चेमा सम्पन्न भएको छ ।
गोसाईकुण्ड गाउँपालिका स्याफ्रुबेशी रसुवाको आयोजना तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रसुवाको सह आयोजनामा भएको उक्त कार्यक्रममा सरकारका प्रबक्ता एवम् संञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यता रहेको थियो भने फोनिज प्रदेश नं ३ का अध्यक्ष पेमा लामाको अध्यक्षता रहेको थियो ।
संञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सो कार्यक्रमको उद्घाटन गर्दै संचार क्षेत्रमा मौलाएको गलत संस्कृतिप्रति सवै सचेत हुनुपर्ने बताउँदै मिडियाहरू जिम्मेवार र उत्तरदायी हुनुपर्ने बताएका छन् । पत्रकारहरुको न्युनतम पारिश्रमिक प्राप्त गर्ने स्थितिका लागि संसदमा पेस भएको जानकारी दिंदै समानुपातिक विज्ञापन प्रणालीले सबै मिडियाहरु सुरक्षित र सुनिश्चित रहने बताएका छन् ।
कार्यक्रममा फोनिजका महासचिव मनोज घर्तिमगर , नेकपा केन्द्रीय नेता सूर्य थापा, सामुदायिक रेडियाे प्रसारक सङ्घ नेपाल (अकोराव) का अध्यक्ष सुवास खतिवडा , ३ नं प्रदेशसभा सदस्य प्रेम तामाङ, गाउँपालिका अध्यक्ष कैसाङनुर्पू तामाङ ,फाेनिज जिल्ला अध्यक्ष दिपक लामा , नेपाल पत्रकार महासङ्घ रसुवाका अध्यक्ष हेमनाथ खतिवडा, नेपाल प्रेस सङ्गठनका नेता हिरामान तामाङ , फोनिज संघीय समितिका कोषाध्यक्ष अमरध्वज लामा, प्रदेश नं ३ का इन्चार्ज समिर बलामी लगायतले आफ्नाे धारणा राखेका थिए ।
कार्यक्रममा सञ्चारमन्त्री बास्कोटालाई घोषणापत्र मार्फत ध्यानाकर्षण गराइएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नं. ३ द्धारा जारी ९ बुँदे गोसाईकुण्ड घोषणापत्र यस प्रकार छ :-
१. श्रमजीवी पत्रकार ऐन तत्काल कार्यान्वयन गरियोस् ।
२. सरकारी र निजी सञ्चार माध्यमहरुमा आदिवासी जनजाति, अल्पसंख्यक, सीमान्तकृत, महिला, दलित, पछाडि पारिएका क्षेत्रलाई अनिवार्य समावेश गरियोस् ।
३. प्रदेश सरकार र स्थानीय तहले बजेट निर्माण गर्दा आदिवासी जनजाति समुदाय लक्षित कार्यक्रमहरु अनिवार्य समावेश गराइयोस् ।
४. आदिवासी जनजाति समुदायका भाषा, लिपि, संस्कृतिलाई सम्र्बद्धन र प्रवद्र्धन हुने गरी सञ्चार माध्यमहरुबाट अनिवार्य प्रकाशन र प्रसारण गर्ने नीति निर्माण गरियोस् ।
५. सरकारले निर्माण गरेको समावेशी सञ्चार नीति २०७३ संघ, प्रदेश र स्थानीय तहमा तत्काल कार्यान्वयन गर्न माग गरेको छ । आदिवासी जनजाति, अल्पसंख्यक, सीमान्तकृत, महिला पत्रकारलाई सरकारको स्वामित्वमा रहेका तथा निजी सञ्चारमाध्यमहरुमा समानुपातिक समावेशी सिद्धान्त र समानताको आधारमा सहभागी गराउने व्यवस्था गरिएका छन् ।
६. संघ (केन्द्र), प्रदेश तथा स्थानीय सरकारले बजेट विनियोजन गर्दा आदिवासी जनजाति समुदायका पत्रकार सम्बद्ध संघ संस्थाको क्षमता बृद्धि, संस्थागत विकासका लागि विशेष व्यवस्थाका आधारमा बजेट विनियोजन गरियोस् । र, आदिवासी जनजाति पत्रकारको क्षमता अभिवृद्धि तथा सशक्तिकरण गर्न तालिम तथा प्रशिक्षणका निम्ति सरकारको तर्फबाट बजेटको व्यवस्था गरियोस् ।
७. रसुवाको पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार तथा भम्रण बर्ष २०२० लाई सफल बनाउनका सञ्चार माध्यममार्फत प्रचार प्रसारमा सहयोग तथा पैरवी गर्न फोनिज प्रतिबद्ध छ । साथै निम्नानुसारका सम्पदा संरक्षण र प्रवद्र्धनका लागि सरकारसँग जोडदार माग गर्दछ ।
क) लाङटाङ, गोसाइकुण्ड, ऐतिहासिक रसुवागढी, तामाङ सम्पदा मार्ग लगायतका पर्यटकीय क्षेत्रलाई प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्नुपर्ने ।
(ख) पर्यटन प्रवद्र्धनका निम्ति आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने ।
(ग) नेपाल–चीन नाका रसुवागढीलाई व्यवस्थित र विकास विस्तार गर्नुपर्ने ।
८) रसुवाका पर्यटकीय स्थानहरुको पहिचान गरी त्यसको संरक्षण र प्रचार प्रसार गर्नुपर्ने ।
९.फोनिज प्रदेश ३ ले गोसाईकुण्ड गाउँपालिका रसुवामा सम्पन्न भेलाले फोनिज प्रदेश कल्याणकारी कोष संचालन गर्ने निर्णय गरेकोले सम्बन्धित निकायहरुबाट सहयोग लागि आह्वान गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-